
काठमाडौं— सडक विभागले न्युरोडमा फुटपाथ बनाउन खनिएको सडकमा पीच (कालोपत्र) गर्न लाग्दा काठमाडौं महानगरपालिको नगर प्रहरी पुगेपछि तनावको स्थिती सिर्जना भएको छ।
केही दिन अघि काठमाडौं महानगरपालिकाले न्युरोड गेटदेखि जुद्ध शालिक हुँदै इन्द्रचोकसम्मको फुटपाथ बढाउन त्यहाँको सडकको निकारा खनेको थियो। तर आज सडक विभागको टोलीले महानगरले खनेको सडक पेटीमा पीच गर्न थालेपछि महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली त्यहाँ पुगेर काम प्रभावित पारेको हो।
सो क्रममा महानगर प्रहरी र सडक विभागका कर्मचारीबीच भनाभनको स्थिती समेत सिर्जना भएको थियो।
त्यहाँको फुटपाथ बढाउने महानगको निर्णयकोविरुद्ध रहेका न्युरोडका स्थानीयले महानगरको विरोधमा नाराबाजी समेत गरेका छन्। सो क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरु समेत त्यहाँ पुगेर नाराबाजी गर्न थालेपछि अवस्था थप तनावग्रस्त बनेको हो।
अहिले त्यहाँ ठूलो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ।
पछिल्लो समय न्युरोडमा फुटपाथ बढाउने विषयमा काठमाडौं महानगरपालिका र सडक विभागबीचको विवाद बढिरहेको छ। बालेनले त्यहाँ सडक विभागको मापदण्ड अनुसार नै आफूले फुटपाथ बढाउन लागिएको दाबी गरे पनि त्यसलाई विभागले भने रोकिरहेको छ।
फुटपाथ निर्माणका लागि महानगरले सडकको दुवै किनारा कटिङ गर्दा विभागको टोलीले रोकेपछि केही दिन अघि महानगरले सडक विभाग र सडक डिभिजन कार्यालय अघि फोहोर समेत फालेको थियो।













