काठमाडौं— कुवेतका अमिरले नयाँ युवराजका रूपमा शेख सहाव खालिद अल–हमाद अल–सहावको नाम सार्वजनिक गरेका छन्। राजगद्दी सम्हालेको ६ महिनापछि र संसद् निलम्बन गरेको केही हप्तापछि शनिबार उनले नयाँ युवराज घोषणा गरेका हुन्।
सन् २०११ देखि २०१९ सम्म खाडी मुलुकको विदेशमन्त्री र सन् २०२२ सम्म प्रधानमन्त्री भइसकेका ७१ वर्षीय शेख राजनीतिक एवं कूटनीतिक जगतमा अनुभवी व्यक्ति मानिन्छन्।
गत मे महिनामा ८३ वर्षीय अमिर शेख मेशाल अल अहमद अल सहावले निर्वाचनको छ हप्तापछि संसद् विघटन गरेपछि कुवेतमा नयाँ राजनीतिक उथलपुथल मच्चिएको थियो। उनले संविधानका केही प्रावधान पनि निलम्बन गरेका थिए।
गत डिसेम्बरमा राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेपछि उनले दोस्रो सरकार गठन गरी जिम्मेवारी तोकेका थिए। अन्य खाडी मुलुकहरूको तुलनामा कुवेतमा प्रभावशाली संसद् छ भने अधिकांश शक्ति राजपरिवारमा छ।
सांसदहरूसँग अधिकार भएपनि सरकारसँग उनीहरूको नियमित लडाइँले बारम्बार सङ्कट निम्त्याउँछ।
कुवेतसँग विश्वको करिब सात प्रतिशत तेल भण्डार छ। यो देशमा विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष छ । तर, हालैका वर्षहरूमा कुवेतले आफ्नो अर्थतन्त्रलाई तेलमा निर्भरताबाट टाढा राख्न सङ्घर्ष गरिरहेको छ ।