News Griha :: न्यूजगृह
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं— निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ ।  

उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले बारा क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत हुनेगरी उनलाई के–कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा गएको हो भनी स्पष्टीकरण सोधेको हो । 

‘तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकामा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?,’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ । आयोगका उपसचिव कमल ज्ञवालीले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ११:४७
Weather Update