News Griha :: न्यूजगृह
पीएनजीविरुद्ध वेष्ट इन्डिजको सहज जित

काठमाडौं— आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहआयोजक वेष्ट इन्डिजले विजयी सुरुआत गरेको छ। घरेलु मैदान प्रोभिडेन्स स्टेडियम गायनामा आइतबार राति भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराउँदै वेष्ट इन्डिजले विजयी सुरुआत गरेको हो।

पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेष्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।  वेस्ट इन्डिजका लागि रोस्टन चेसले नटआउट ४२,  ब्रान्डन किंगले ३४, निकोलस पुरनले २७, आन्द्रे रसेलले नटआउट १५ र कप्तान रोभमन पावेलले पनि १५ रन बनाए।

बलिङतर्फ पीएनजीका लागि कप्तान असद भालाले २ तथा अलेई नाओ र चाद सोपर र जोन कारिकोले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो। ​​ पीएनजीका लागि सेसे बाउले ५०, किप्लिन डोरिगा ले नटआउट २५, असद भालाले २१ रन‚ चार्ल्स अमिनीले १२ रन र चाड सोपरले १० रन बनाए।

बलिङतर्फ वेष्ट इन्डिजका आन्द्रे रसेल र अल्जारी जोसेफले २/२ तथा अकिल होसेन‚ रोमारियो सेफर्ड र गुडाकेश मोतीले समान १/१ विकेट लिए। आइतबार अमेरिकामा भएको उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले क्यानडालाई हराउँदै विजयी सुरुआत गरेको थियो।

प्रतियोगिता अन्तर्गत आज २ खेल हुनेछन्।  बिहान सवा ६ बजे सुरु हुने खेलमा ओमान र नामिबिया भिड्नेछन्। आजै राति सवा ८ बजे दक्षिण अफ्रिका र श्रीलंका आमनेसामने हुनेछन्।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०६:०९
Weather Update