
काठमाडौं— प्रहरीले यातायात कार्यालय रौतहटबाट दुईजना बिचौलियालाई पक्राउ गरेको छ।
गौरको ट्रायल सेन्टरमा बिचौलियाले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलेको गुनासो आएपछि दुईजना बिचौलियालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एलिजा गिरीले बताइन्।
पक्राउ पर्नेमा चितवन भरतपुर–१० का ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका–१ बस्ने ४८ वर्षीय श्यामनारायण साह छन्।
पक्राउ परेका दुवैजना माथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने गिरीले बताइन्।
पछिल्लो समय यातायात कार्यालय गौरमा स्थानीयदेखि काठमाडौंसम्मका दर्जनौं बिचौलियाले लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिने गरेको स्थानीयको भनाइ छ।
प्रयोगात्मक परीक्षा पास गराइदिने भन्दै उनीहरूले एकजनाबाट १० देखि ३० हजार रुपैयाँ लिने गरेका छन्।













