
काठमाडौं— सर्वोच्च अदालतले नेपाली कांग्रेसका तत्कालीन नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा साउन १३ मा फैसला सुनाउने भएको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले आइतबार दुवै पक्षको सुनुवाइ सकेर असार २१ सम्म बहस नोट पेस गर्न आदेश दिएको छ। सर्वोच्च अदालतले १ जेठदेखि जोशी विरुद्धको मुद्दाको सुनुवाइ गरिरहेको थियो।
अख्तियारले २०६० साल पुसमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले त्यतिबेला उनीमाथि ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउनमा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो।
विशेषको फैसला विरुद्ध जोशीले २०६९ फागुनमा सर्वोच्चमा पुनरावेदन दिएका थिए।













