News Griha :: न्यूजगृह
बूढानिलकण्ठ बैठकबारे माधव नेपाल भन्छन्– छलफल गर्न पाउनुपर्छ, आत्तिनु पर्दैन 

काठमाडौं— पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बूढानिलकण्ठ बैठकबाट आत्तिइहाल्नु नपर्ने बताएका छन्। 

आइतबार आगामी महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले पार्टी र नेताहरुबीच छलफल हुने सामान्य रहेको बताउँदै त्यसबाट कोही पनि आत्तिइहाल्नु नपर्ने बताए। 

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा विपक्षी दलका नेताहरुसँग नेपालले बुधबार भेटेपछि सत्तारुढ गठबन्धनभित्र तरंग पैदा भएको थियो। त्यसबारेमा सत्तारुढ दलका नेताहरुले एकीकृत समाजवादीका नेताहरुसँग चरणवद्ध रुपमा भेट समेत गरेका थिए। 

सोही बैठकबारे कुरा गर्दै नेपालले भने, ‘सबैले नेताहरुसँग बैठक गर्न पाउँछन् हामीले पनि पाउनुपर्छ। तर अन्यथा रुपमा कसैले पनि आत्तिनु पर्ने अवस्था छैन। त्यसै शिलशिलामा मैले प्रधानमन्त्रीसँग असमझदारी नहोस् भनेर मैले प्रधानमन्त्रीलाई फोन पनि गरेँ। उहाँले भन्नुभयो, ठिक छ सम्बन्ध सम्पर्क सबैसित राख्नैपर्छ, तर अन्तिम कमिटमेन्ट चाँही नगरिदिनुहोला।’ 

त्यस्तै सरकारलाई दिएको समर्थनका आधारमा आफूहरु अघि बढेको बताउँदै उनले आफू दुई वटा नाउमा खुट्टा राखेर नहिँडेको बताए। 

‘विश्वास र समझदारी भैसकेपछि त्यसै आधारमा अगाडी बढिन्छ। हामी दुईटा नाउमा खुट्टा राखेर चल्दैनौँ,’ उनले भने।   

मधेस प्रदेश सरकार गठनका विषयमा आफूहरुले सरकार गठनमा सघाउने भए पनि सरकारमा सामेल हुनेबारे पार्टीको आधिकारीक धारणापछि मात्रै टुंगो लाग्ने बताए। 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १६:३८
Weather Update