News Griha :: न्यूजगृह
नेपालमा बढ्न थाले पर्यटकः एक महिनामा ९० हजार भित्रिए, कहाँबाट कति?
फाइल तस्बिर

काठमाडौं— सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन्। 

नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्। 

सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो। सन् २०२३ को मेमा ७७ हजार सात सय तीनजना विदेशी पर्यटक नेपाल आएका थिए। कोभिड–१९ महामारीपूर्व ७८ हजार तीन सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। उनले भने, ‘समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ। तुलनात्मक रुपमा भारत र अमेरिकाबाट धेरै सङ्ख्यामा पर्यटक भित्रिए पनि चीनबाट अपेक्षित रुपमा पर्यटक बढेका छैनन्।’

विगतका महिनामा झैँ यो पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार दुई सय ८८ जना पर्यटक नेपाल भित्रिएका छन्। सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट आठ हजार तीन सय ८१ जना पर्यटक नेपाल आएका छन्। संयुक्त राज्य अमेरिकाबाट आठ हजार पाँच सय २७ पर्यटक नेपाल भित्रिएका छन्।

त्यस्तै एसियन महादीप अन्तर्गतका सार्क मुलुकहरूबाट ४३ हजार ८०३ जना पर्यटक आएका छन् भने अन्य दक्षिण एसियाली मुलुकहरूबाट १४ हजार ४२५ जना, युरोपेली मुलुकहरूबाट ११ हजार २१४ जना, सामुन्द्रिक मुलुकहरूबाट २ हजार ५१४ जना र अमेरिकी मुलुकहरूबाट ९ हजार ५४२ जना आएको विभागको तथ्यांकमा उल्लेख रहेको छ।   

विभागका अनुसार यस अवधिमा मध्यपूर्वी देशहरू इजरायल, टर्की लगायतका देशहरूबाट ७ हजार ७८३ जना पर्यटक नेपाल भित्रिएका छन्। 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १४:५०
Weather Update