
काठमाडौं— आईसीसी टी–२० विश्वकप खेल्न जान अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोबारे संसद्मा कुरा उठेको छ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले एक नेपाली क्रिकेटरको विषयलाई लिएर परराष्ट्र नीतिप्रति नै प्रश्न गरेका छन्।
उनले नेपाल अमेरिकाबीचको परराष्ट्र नीतिमा कुनैपनि देशको आन्तरिक विषयमा हस्तक्षेप गर्ने कुरालाई स्वीकार नगर्ने नीतिमै समावेश भएनि उच्च अदालतले निर्दोष सावित गरेको र आईसीसीले समेत स्वीकृति दिएको व्यक्तिलाई अमेरिकाले भिसा नदिएकोमा आक्रोश पोखे।
विश्वमा क्रिकेट र फुटबललाई सबैले रुचाउने र यी खेलका माध्यमबाट देशको नाम उँचो हुनेमा जोड दिएका उनले क्रिकेटमा बलिया टोलीका खेलाडीलाई समेत पछि पारेका सन्दीपलाई नेपालले दोस्रो पटक विश्वकप खेल्दै गर्दा भिसाका कारण रोक लगाउनु उचित नभएको तर्क गरे।
उनले भने, ‘नेपाललाई संसारभर यदी कसैले चिनाउँछन् भने कि कलाकारले कि खेलाडीले। नेताले होइन। सन्दीपलाई भिसा नदिनु सिङ्गो देशमाथि अमेरिकाले गरेको अपमान हो।’ सन्दीप भिसा प्रकरणमा आक्रोशित देखिएका उनले परराष्ट्र नीतिमाथि नै प्रश्न उठाएका हुन्।
‘सभामुखमार्फत परराष्ट्रमन्त्रीलाई सोध्न चाहान्छु हामीले पञ्चशिलको आधारमा परराष्ट्र नीति बनाएको होकि पार्टीको कार्यकर्ताको मेनिफेस्टोको आधारमा परराष्ट्र नीति बनाएको ?’ उनको प्रश्न थियो।