News Griha :: न्यूजगृह
रविप्रति रामहरिको कटाक्षः गृहमन्त्रालय चलाउन मिडिया चलाएजस्तो सजिलो नसोच्नुस्
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति कटाक्ष गरेका छन्। 

गणतन्त्र दिवसका दिन गृहमन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारी भएको ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने र मापसे लगायत अन्य ट्राफिक कारबाहीमा परेकाहरुलाई सडकमा खटाइने निर्णय गरेका थिए।  

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले कानुनमै नभएको कुरा ल्याएर गृहमन्त्री लामिछानेले सडकमा मानिसहरुलाई खटाएको भन्दै कटाक्ष गरे। 

उनले गृहमन्त्रीले कानुन अनुसार कामकारबाहीलाई अघि बढाउनुपर्नेमा सामाजिक सञ्जालमा लेखेको भरमा गृहमन्त्रालय चलाइरहेको आरोप लगाए। 

सानातिना कुराका आधारमा मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन मन्त्रालय कानुन अनुसार चलाउने हो,’ खतिवडाले भने, ‘अहिले पनि पत्रकारिता चलाएर जस्तो बोलेर ट्वीट गरेर मुलुक चलाउने होइन कानुन अनुसार मन्त्रालय चलाउने, काम गराउनुपर्छ।’   

त्यस्तै मापसे गरेकाहरुलाई कुन कानुनका आधारमा सडकमा उभ्याइएको भन्दै प्रश्न गरे। गृहमन्त्रालय प्रहरी प्रधान कार्यालय कतै पनि पत्राचार नगरीकन आफैँले सनकका भरमा ठाडो निर्देशन दिएर काम गरेको भन्दै कानुन अनुसार काम गर्न आग्रह गरे।  

‘मापसे गरेका मान्छेहरुलाई बिहान सडकमा ल्याएर उभ्याउने अरे, यो कुन कानुन र नियमावलीमा छ। गृहमन्त्रालयले त्यो प्रहरीलाई पठाएको छ की गृहमन्त्रालयमा पत्राचार भएको छ की? यसरी शासन चलाउनेविरुद्ध लडेका मान्छेहरु हामी यसरी हुकुमी शासन चलाउने पद्धत्तीको विरुद्धमा छौँ। कसैको पनि श्रम शोषण गर्न पाइँदैन कानुन अनुसार मुलुकलाई अघि बढाउन पर्छ,’ उनले भने।  

महिला ट्राफिक प्रहरीलाई महिनावारीका बेला सडकमा जान नपर्ने नियमबारे सबैले प्रशंसा गरे पनि कारबाहीमा परेका चालकहरुलाई सडकमा उभ्याउने नियमविरुद्ध आवाज उठिरहेको छ। त्यसको विरुद्धमा सर्वोच्चमा रिट समेत परेको छ। 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ११:३२
Weather Update