News Griha :: न्यूजगृह
को बन्ला भारतमा नयाँ प्रधानमन्त्री? 

काठमाडौं— भारतमा लोकसभाको चुनाव सकिएको छ। शनिबार सातौँ तथा अन्तिम चरणको मतदान भएसँगै लोकसभाका सबै ५४३ निर्वाचन क्षेत्रमा मतदान भएका हुन्।

india-election-(1)-1713510133.jpg
४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको हो। १९ अप्रिलबाट सुरुभएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको हो। चुनावको नतिजा भने ४ जुनमा आउनेछ।

विश्वकै ठूलो लोकतान्त्रिक देश भारतमा छिटफुट हिंसाका समाचार बाहेक सबैतिर शान्तिपूर्ण चुनाव भएको छ। सधैँभरि आतङ्कवादी आक्रमणको त्रासमा रहँदै आएको कश्मीरमा यसपटक सर्वाधिक मतदान भएको पाइएको छ।

india-election-(6)-1713510135.jpg
सत्तारुढ भारतीय जनता पार्टीले तेस्रोपटक केन्द्रमा जितका लागि पूरा शक्ति लगाएर चुनावी मैदानमा होमिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतभरि सयौँ र्‍याली तथा सभालाई सम्बोधन गरे। उनी लगातार तेस्रोपटक प्रधानमन्त्री बन्न प्रयासरत छन्। यसपटक जिते भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु पछि मोदी लगातार तेस्रोपटक प्रधानमन्त्री हुने व्यक्ति हुनेछन्।

यसपटक पनि मोदी नै दोहोरिने विभिन्न एक्जिट पोलले बताएका छन्। मोदीको गठबन्धनले चारसय पार गर्न सक्ने केहीको अडकलबाजी रहेको छ। 

india-election-(5)-1713510135.jpg
कट्टर हिन्दुवादी पार्टीका रूपमा चिनिएको भारतीय जनता पार्टी भाजपाले हिन्दु मतलाई आफ्नो पक्षमा ध्रुविकृत गरेर चुनावमा जित्ने रणनीति लिएको देखियो। भाजपालाई कांग्रेस नेतृत्वको विपक्षी ‘इन्डिया’ गठबन्धनले देशैभर चुनौती दिएको छ।

कांग्रेस नेता राहुल गान्धीले विपक्षी गठबन्धनको अगुवा गर्दै चुनावभरि देश दौडाहा गरेका थिए। समाजवादी पार्टीका नेता अखिलेश यादव, आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवालदेखि राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवलगायत कैयौँ विपक्षी नेताहरू भाजपालाई हराउन चुनावी मैदानमा डटेका थिए।

india-election-(3)-1713510134.jpg
पश्चिमबङ्गालमा ममता बनर्जीदेखि महाराष्ट्रमा उद्धव ठाक्रे र शरद यादव समेतका नेताहरू भाजपालाई चुनौती दिँदै आएका छन्। ९७ करोड मतदाता रहेको भारतमा यसपटकको चुनावमा अघिल्लो पटकभन्दा कम मतदान भएको छ। हरेक चरणमा मतदान प्रतिशत घटेको छ। समग्रमा भएको मतदानको प्रतिशत निर्वाचन आयोगले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन। 

शनिबार अन्तिम चरणमा भएको मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणसीमा पनि मतदान भएको छ। त्यहाँ कांग्रेसले अजय रायलाई उतारेको छ। कांग्रेस नेता राहुल गान्धी केरलको वायानाड र उत्तर प्रदेशको रायबरेली दुई स्थानबाट चुनावी मैदानमा उत्रिएका छन्। देशैभर ईभीएमबाट मतदान भएको छ। सबैतिरको मतगणना एकैसाथ जुन ४ का दिन हुनेछ।

india-election-(2)-(1)-1713510775.jpg
सत्तारुढ भाजपा र इन्डिया गठबन्धन दुवैले आआफ्नो जितको दाबी गरेका छन्। भाजपा अध्यक्ष जेपी नड्डाले भारी बहुमतका साथ आफ्नो सरकार पुनः बन्ने दाबीलाई दोहोर्‍याएका छन्। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले इन्डिया गठबन्धनले कम्तीमा २९५ सिट जित्ने दाबी गरेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०७:०६
Weather Update