News Griha :: न्यूजगृह
उपनिर्वाचन शान्तिपूर्ण गराउन सुरक्षा व्यवस्था चुस्त

तनहुँ— तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन शान्तिपूर्ण गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले नेपाल प्रहरी १ हजार ६ सय परिचालन गरिएको जानकारी दिए ।

सशस्त्र प्रहरी ४ सय ५० र नेपाली सेना ५ सय गरी करिब २ हजार ५ सय सुरक्षाकर्मी खटाइएको छ । उपनिर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र नेपाली सेना रहेका छन् ।

तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र रहेका छन् । तीन वटा अतिसंवेदनशील र २४ वटा संवेदनशील मतदानस्थल रहेका छन् ।

निर्वाचनका लागि १५  केन्द्रमा महिलालाई मतदान अधिकृत तोकिएको छ । तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.स्वर्णिम वाग्ले, कांग्रेसका तर्फबाट गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनालसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् ।

तनहुँ–१ मा १ लाख २३ हजार ३ सय पाँच मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १०:०२
Weather Update