
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा असन्तुष्टि जनाएका छन्।
शनिबार बसेको एमालेको संसदीय दलको बैठकमा ओलीले बजेट ल्याउँदा सरकारमा सहभागी दलहरूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका हुन्।
ओलीले बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको आरोप समेत लगाएका छन्।
उनले भने, ‘यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुन सक्थ्यो। छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो बढ्ता देखिन गएको छ। यसको निर्माण प्रक्रियामा कमजोरी रहँदा गम्भीर त्रुटि भएका छन्।’
ओलीले सांसदहरूलाई निर्देशन दिँदै बजेटमा रहेका कमजोरी औँल्याउन निर्देशन दिएका छन्।
उनले भने, ‘बजेटमा रहेको कुनैपनि कमजोरी औँल्याउनै हुँदैन भन्ने होइन। बजेटमा रहेको कमी माननीय ज्यूहरूले आफ्नो क्षेत्र र जिल्लामा प्रदेशमा हिजोको र आजको के कमीकमजोरी छ? के हुनुपर्थ्यो? के अझै घट्यो? यस्ता कुराहरूमा छलफलमा प्रश्न उठाउन सक्नुहुन्छ।’
बजेटमा कमजोरी भएपनि पारित गर्नुपर्ने अवस्था रहेको उनले बैठकमा बताए।