
काठमाडौं— यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम आइपुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागले आज सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने छ । पूर्वी भूभागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ मानिएको छ ।
यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागले जनाएको छ ।
पर्यो पानी, उपत्यकावासीलाई राहत
आज बिहानै देखि घाम चर्किएर हपहप गर्मी खेपीरहेका उपत्यकावासीलाई केहीबेर अघि परेको एकझर पानीले ठूलो राहत मिलेको छ ।
उपत्यकाका सबै जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ ।
काठमाडौंसहित रामेछाप, सोलुखुम्बु, म्याग्दी, स्याङ्जा, गुल्मी, प्यूठान, सिन्धुपाल्चोक, धादिङ लगायतका स्थानहरूमा दिउँसो हल्कादेखि मध्यम वर्षा भएको विभागको भनाई छ ।













