News Griha :: न्यूजगृह
वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

काठमाडौं— अवैध सिकार तथा वन्यजन्तु बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी शुक्रबार सम्पन्न भएको छ।  

फ्रान्सेली राजदूतावास र फ्रान्सेली अन्तर्राष्ट्रिय सुरक्षा सहयोग निर्देशनालयको आयोजनामा भएको गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,  वन तथा वातावरण मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय लगायत वन्यजन्तु संरक्षण ता बेचविखन विरुद्धको अभियानमा संलग्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।  

अष्ट्रेलिया, बङ्गलादेश, भुटान, कम्बोडिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, सिङ्गापुर, श्रीलङ्का, थाइल्याण्ड, संयुक्त राज्य अमेरिका, फ्रान्सको वातावरणीय र जनस्वास्थ्य अपराध समन्वय केन्द्रीय कार्यालय र फ्रान्सेली भन्सारका प्रतिनिधिको उपस्थितिमा भएको गोष्ठीमा नेपालस्थित फ्रान्स दूतावासका कार्यवाहक राजदूत लीला देवरादजालोले गोष्ठीको औचित्यबारे चर्चा गर्दै यसमा १३ देशको सहभागिताले यसको आवश्यकता र महत्वलाई दर्शाएको बताए। 

नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयका प्रमुख  सञ्जय देउजाले राष्ट्रिय निकुञ्जमा सिकारी नियन्त्रणमा नेपाली सेनाको प्रयासबारे जानकारी गराए। ‘नेपाली सेना हाम्रो राष्ट्रको समृद्ध जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षणमा आफ्नो प्रतिबद्धतामा अडिग छ । हाम्रा समर्पित कर्मचारीहरू लोपोन्मुख प्रजातिहरूको संरक्षण, सिकार र वन्यजन्तुको अवैध ओसारपसारबाट जोगाउन अथक प्रयास गरिरहेका छन्,’ उनले भने। 

 वन्यजन्तुको चोरी सिकारी तथा वनको वातावरण विनाश गर्नेविरुद्ध प्रभावकारी रूपमा लड्न फ्रान्सेली मन्त्रालयको लागि युरोप र विदेश मामिलाको सुरक्षा सहयोग निर्देशनालयले आर्थिक सहयोग गर्दै आएको छ।

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १४:३०
Weather Update