News Griha :: न्यूजगृह
मतदानस्थलबाटै स्वर्णिमले भने– मतदाताको मन र मत दुवै फेरिएको छ

काठमाडौं— तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्लेले यसपटक मतदाताको मन र मत दुवै फेरिएको बताएका छन् ।

उपनिर्वाचनको मतदानस्थलबाटै वाग्लेले यसपटकको तनहुँ विगतको जस्तो नभएको बताउँदै मतदाताको परम्परागत मन र मत दुवै फेरिएको पाएको बताएका हुन् ।

‘मतदानस्थलमा मतदाताहरूको उत्साह रास्वपाप्रति सकारात्मक छ । परम्परागत मतहरूलाई र विचारहरूलाई परिवर्तन गराएको मैले पाएको छु,’ उनले भने,‘सूचना प्रविधिको पहुँचले ५०–६० नाघेकाहरूको पनि मन र मत दुवै फेरिनेवाला छ यसपालि ।’

साेही क्षेत्रबाट गत ४ मंसिरको निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन भइरहेको छ ।

तनहुँमा रास्वपाका डा.वाग्लेसँगै नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाललगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०९:४२
Weather Update