News Griha :: न्यूजगृह
दोलखामा सुख्खा पहिरो झर्दा अलपत्र परेका ६० जनाको उद्धार

दोलखा — विगु गाँउपालिका–१ देउरालीमा सुख्खा पहिरो झर्दा अलपत्र परेका ६० जनाको उद्धार गरिएको छ।

पहिरोले बाटो क्षतिग्रस्त बनाएपछि २५ जना विदेशी पर्यटकसहित पथ प्रदर्शक र भरियालगायत ६० जनाको वैकल्पिक बाटो प्रयोग गरेर उद्धार गरेर लामाबगर ल्याइएको छ। जलविद्युत् आयोजनाले पहुँचमार्ग खन्ने क्रममा सुख्खा पहिरो झरेको थियो।

पहिरोले बाटो क्षतिग्रस्त बनाएपछि चीनसँगको सिमाना लप्ची गाउँमा रहेको लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यानकेन्द्रको उद्घाटन र दीर्घायु पूजामा सहभागी भई फर्कँदै गरेका २५ विदेशीसहित झण्डै ६० जना पर्यटक देउराली क्षेत्रमा अलपत्र परेका थिए।

उनीहरु वैकल्पिकमार्ग प्रयोग गरी लामाबगर ल्याइएको विगु गाउँपालिका–१ अध्यक्ष मेमबहादुर तामाङले बताए। शुक्रबार बिहान करिब ११ बजेतिर विगु गाउँपालिका–१ लामाबगरस्थित क्यालु खोला र देउरालीको बीचमा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा आंशिक रूपमा थुनिएको तामाकोशी सामान्य लयमा फर्किएको छ।

सडक खन्ने क्रममा देउराली नजिकै खसेको सुक्खा पहिरोले तामाकोशी नदी आंशिक रूपमा थुनिएको थियो। पहिरो झर्नेक्रम भने नरोकिएको उनले बताए। 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०८:२०
Weather Update