
काठमाडौं— अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले बेलायती नागरिकताधारी नेपाली मूलका चर्चित आरोही निर्मल पुर्जा (निम्स)ले कैयौँ महिलालाई यौन हिंसा गरेको समाचार प्रकाशन गरेको छ।
‘न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्व मिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुर्व्यववहार गरेको भनेकी छन्।
गत डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्मरणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि हिन्स्टाले एक जना चर्चित आरोहीसँग अप्रिय घटना भएको उल्लेख गरेकी थिइन्। पुस्तकमा उनले निम्सको नाम नलिइ आफ्नो सहमतिबिना ती व्यक्तिले चुम्बन गरेको भनेकी थिइन्।

शुक्रबार न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा ती व्यक्ति निम्स भएको खुलाउँदै उनले होटलको कोठाभित्र के/के भएको थियो भन्ने पनि खुलाएकी छन्।
उनका अनुसार, पुर्जाले लबीमा कफी पिउनको साटो कोठासम्म लिएर गएका थिए। पुर्जाले लुगा खोल्दै ब्रासम्म उतार्न जबरजस्ती गरेको हिन्स्टाले दाबी गरेकी छन्।
आफूले पुर्जाको जबरजस्ती लाई अस्वीकार गरेपछि उनले हस्तमैथुन गरेर छोडेको उनको आरोप छ। केही महिना अगाडि सामाजिक सञ्जाल इन्स्टाग्राममा बेनामे आईडीबाट पुर्जाले यौन हिंसा गरेको आरोप लागेको थियो।
आरोप लाउनेहरू खुलेर आएको खबर चाहिँ बिहीबार प्रकाशित न्यूयोर्क टाइम्सको खबर मात्र हो।
न्यूयोर्क टाइम्समा प्रकाशित पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् ।