News Griha :: न्यूजगृह
बूढानीलकण्ठ केन्द्रबिन्दु भएर आएको राजनीतिक भूकम्प

काठमाडौं— जेठ १६ बुधबार साँझ बूढानीलकण्ठ केन्द्रबिन्दु भएर उठेको राजनीतिक भूकम्पले सत्तागठबन्धनलाई बेस्सरी नै हल्लाएको छ। त्यसको परकम्पले सत्ताका अन्तरकुन्तरमा कपाल जत्रा रेशा कोरिएका छन् भने अनगिन्ती परकम्प आउनेक्रम रोकिएको छैन।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा अरु प्रतिपक्षी दलका नेताहरूलाई परामर्शमा निमन्त्रण गरेका थिए। साथै निमन्त्रणा पाएका थिए सत्ता गठबन्धनका नेता माधवकुमार नेपालले पनि। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि त्यहाँ सहभागी थिए। मधेसमा सरकार निर्माणबारे छलफल गर्ने उद्देश्य थियो र एकीकृत समाजवादीका अध्यक्ष नेपालको उपस्थिति निकै महत्वपूर्ण थियो।

जसै नेता नेपाल बूढानीलकण्ठ बैठक कक्षमा आसनग्रहण गरेको खबर महाराजगञ्ज चक्रपथ हुँदै बालुवाटार पस्यो अनि हल्लियो गठबन्धनको जग र तिलमिलाए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।  

भर्खरै चौथोपटक विश्वासको मत लिएका दाहाललाई तुरुन्तै पाँचौँपटक विश्वासको मत लिनुपर्ने आपत् आइपर्ला भन्ने भयले छोप्नु छोप्यो भने त्यो अन्यथा पनि होइन। गृहमन्त्री रवि लामिछाने र गुप्त कार्यमा सक्रिय राज्यका तमाम संयन्त्र परिचालित भए, नेता नेपाल बूढानीलकण्ठबाट निस्किएर कोटेश्वर निवास प्रवेश नगरुन्जेल गृह प्रशासनले ढुक्कले श्वास पनि लिएन। अनि प्रधानमन्त्री दाहालले फोनवार्ता गरेर नेता नेपालको हालखबर सोधेपछि मात्र राजनीतिक कम्पन केही मत्थर भयो।

तर यत्तिले मनको बाघको शिकार हुनसकेन, प्रधानमन्त्रीले एकीकृत समाजवादी कै नेता झलनाथ खनालको सहारा लिनुपर्यो। खनालले आफ्नो पार्टीका अध्यक्ष नेपाल वर्तमान गठबन्धनको विकल्प सोच्ने अवस्थामा नपुगेको भनेर स्पष्टीकरण दिएपछि र आफैँ भेटेर ग्रीन टि पिएपछि मात्र प्रधानमन्त्री दाहालको निधारको पसिना ओभाएको थियो।

सत्ता गठबन्धनको पिँडुलामा कति पानी छ भन्ने कुरा बूढानीलकण्ठ बैठकको आयोजनाले जनजनले थाहा पायो। प्रधानमन्त्रीले स्पष्टीकरण नै दिँदै हिँड्नुपर्यो। राजनीतिमा उठेको यो तरंग चियाको कपमा उठेको जस्तो गफको विषय मात्र थिएन। यसले भूकम्पले पृथ्वी हल्लाए पछि सतहमुनि बस्ने प्राणीहरू सतहमा निस्किएर आत्तिँदै दौडधुप गरेझैँ गठबन्धनका नेतागणहरूलाई दौडायो। 

यतिसम्मकि विराटनगर पुगेका प्रधानमन्त्री दाहालले विमानस्थलमा सदाझैँ उपस्थित संवाददाताहरूसँग स्पष्टीकरण नै दिनुपर्यो। उनले नेता नेपालले आफूलाई वर्तमान सत्ता समीकरण भन्दा बाहिर नजाने स्पष्ट गरेको भनेर प्रष्ट्याएका थिए। 

प्रधानमन्त्रीले भनेका थिए, ‘माधवजीको व्यवहार केही पहिलादेखि प्रतिपक्षसँग पनि र सत्ता पक्षसँग पनि जोडिने जस्तो देखिएको थियो, बिहीबार मसँग कुरा हुँदा माधवजी वर्तमान समीकरण भन्दा बाहिर नभएको र नहुने पनि कुरा क्लियर गर्नु भएको छ।’ 

 

अझै स्पष्टीकरण

प्रधानमन्त्री दाहालले आज पनि बूढानीलकण्ठ बैठककै बारेमा पार्टी नेता र कार्यकर्ताहरूलाई आश्वस्त पार्नुपरेको छ। उनले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउँदै सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा दाहालले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न निर्देशन नै दिए। 

वर्तमान सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए। जवाफमा प्रधानमन्त्रीको भनाई थियो, ‘सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ।’

आफूले पनि केही दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै प्रधानमन्त्री दाहालले दलका नेताहरूबीच भेटघाट हुँदैमा राजनीतिमा कुनै फरक नपर्ने भनेर आश्वस्त रहन सुझाएका थिए। 

त्यतिमात्र होइन शुक्रबार दिउँसो सिंहदरबारमा सत्तारुढ दलको प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेता नेपालसँग समेत भेटघाट गरेका छन्। समसामयिक राजनीतिक विषयमा छलफल भएको भनिए पनि भेटघाटमा उही बूढानीलकण्ठ बैठककै विषयमा छलफल भएको थियो। प्रधानमन्त्रीको कुर्सीमा बसेपछि पटकपटक समीकरण फेरेका प्रधानमन्त्री प्रचण्डलाई माधवको दौडधूपले झस्काए पछिको भेटपछि भने केही शान्ति मिलेको देखिन्छ।  

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १८:२६
Weather Update