-1717153628.jpg)
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तीन नेताबीच भेटघाट भएको हो।
बुधबार एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा विपक्षी दलका नेताहरुसँग भेट गरेका थिए। उक्त भेटपछि सत्ता गठबन्धनमा अविश्वास पैदा भएको हल्लाकाबीच नेतात्रयले भेट गरेका हुन्।
भेटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले समसामयिक विषयमा छलफल भएको जानकारी दिए। के–के विषयमा छलफल भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो।’
त्यसो त नेपालले देउवासहित विपक्षी दलका नेताहरु भेटेपछि प्रधानमन्त्रीले त्यसलाई चासोका साथ एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका छन्। बिहीबार नै एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग भेटेर त्यसबारे जानकारी लिएका प्रधानमन्त्री प्रचण्डले नेपालसँग समेत टेलिफोन वार्ता गरेका थिए।
प्रचण्डले आफूसँग परामर्श गरेर नै नेपालले विपक्षी दलका नेताहरुसँग भेटेको प्रतिक्रिया दिइरहेका छन्। आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रचण्डले नेपालको बूढानिलकण्ठको भेटबारे ‘ब्रिफिङ’ गरेका थिए।