
काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटमाथिको छलफलमा बजेटको सकारात्मक विषयवस्तुलाई प्राथमिकतामा राखेर ‘डिफेन्स’ गर्न निर्देशन छन्।
शुक्रबार पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्ना सांसदहरुलाई सो निर्देशन दिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
उनले भने, ‘सबै हिसाबले यो बजेट सन्तुलित छ। सही दिशा समातेको छ यसले अब। यसलाई कार्यान्वयनको लागि अलिकति जोड गरेर जानुपर्छ भन्ने सबैको सुझाव आयो। त्यही रुपमा बजेट छलफलमा प्रस्तुत हुँदा पनि बजेटको सकारात्मक विषयवस्तुलाई हाइलाइट गर्ने गरेर सदनमा सहभागी हुनको लागि प्रधानमन्त्रीले निर्देशित गर्नु भएको छ।’
उनले बजेटको सीमा भएपनि अर्थ चलायमान र गतिशिल बनाउँदै यसले एउटा ठोस रुप लिने विश्वास लिएको पनि बताए।
उनले भने, ‘बजेटको सिमितता त छ तर पनि अर्थ चलायमान र गतिशिल बनाउँदै यसले एउटा ठोस विषयवस्तु लिन्छ। अर्थमन्त्रीले यसको बारेमा विश्लेषण गर्नुभएको छ । त्यसैले बजेट अहिलेको सापेक्षता, देशको अर्थ व्यवस्था, राजनीतिक अवस्था र समीकरणका साथ अगाडि बढी रहेका छौ।’
समितिका कामहरु अगाडि बढाउने, २० गतेबाट लगातार बजेट उपरको छलफल गर्ने र विधेयकको काममा पनि तिव्रताका साथ जाने भन्ने निर्णय पनि भएको छ।
उनले भने, ‘अब समितिका कामहरुमा पनि सबैजना एकजुट हुने र २० गतेबाट लगातार बजेट उपरको छलफलका साथ प्रतिनिधि सभा र राष्ट्रिय सभामा पनि गतिका साथ अगाडि बढाउने कुरा भएको छ। विधेयकको काममा पनि तिव्रताका साथ जाने भन्ने निर्णय भएको छ।’
समाजवादको आधार तयार बनाउनको लागि उत्पादन वृद्धि, उत्पादकत्व वृद्धि र सामाजिक न्यायलाई मुल अभिमुखीकरण बनाएर बजेट त्यतातिर ढल्केको पनि उनको भनाई छ।
अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसद्को दुवै सदनको बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षका बजेटका विषयमा आगामी आइतबारबाट संसद्मा छलफल हुँदैछ।