News Griha :: न्यूजगृह
काठमाडौं महानगरपालिका र सडक विभागबीच विवाद चर्किँदै 

काठमाडौं— काठमाडौं महानगरपालिका र सडक विभागबीचको विवाद चर्किँदै गएको छ। 

काठमाडौं महानगरपालिकाले न्युरोडको सडकमा फुटपाथ बढाउन बाटो कटिङ गरेको थियो। सडक विभागले उक्त काम रोकिदिएपछि मेयर बालेन शाहको निर्देशनमा महानगरले सडक विभाग र सडक डिभिजन कार्यालय अघि फोहोर थुपारिदिएको थियो। 

बिनाअनुमति सडक काटी सडकको स्टान्डर्ड चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक लगाउँदै त्यहाँको सडक दुई दिनभित्र पुनःस्थापना गराउन महानगरलाई पत्राचार गरेको थियो। साथै न्युरोडका स्थानीयले सडक मासेर फुटपाथ बढाउन लागेको भन्दै विरोध समेत जनाएका थिए। 

सोही विषयमा मेयर बालेनले शुक्रबार दिउँसो सामाजिक सञ्जालमा लेख्दै जसले यसअघि न्युरोडको सडकमा पार्किङ हटाउँदा विरोध गरेका थिए आज तीनै व्यक्तिहरुले फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन्। 

३ फिट भन्दा बढी जग्गा ओगटेर पार्किङ गर्दा भन्दा पार्किङले ओगटेको ठाउँ हटाएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्न साँधुरो हुन्छ? भन्दै प्रश्न गरेका छन्।  

‘एउटा रोचक कुरा पढ्नु हुन्छ? न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन्। सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ?,’ मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्। 

त्यस्तै आफूले सडक विभागले बनाएको मापदण्ड अनुसार नै फुटपाथ बढाउन लागेको बताउँदै आफैँले बनाएको मापदण्ड पढ्न विभागलाई आग्रह गरेका छन्।  

बालेनले भनेका छन्, ‘सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला। त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला।’  

त्यस्तै आफूले प्रतिशोध लिनका लागि न्युरोडको फुटपाथ बढाउन नलागेको बताउँदै  बदलिँदो समयमा न्युरोडलाई अझै व्यवसायीक र सुन्दर बनाउन एक जुट हुन आग्रह समेत गरेका छन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १२:४५
Weather Update