काठमाडौं— सयौँ महिलालाई यौन उत्पीडन गरेको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल रेवन्ना पक्राउ परेका छन्। जर्मनबाट फर्किएर भारत आउँदै गरेका प्रज्ज्वललाई बैङ्ग्लोर विमानस्थलमा विशेष अनुसन्धान टोली (एसआईटी) ले पक्राउ गरेको हो। उनलाई शुक्रबार अदालतमा पेस गरिने भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।
प्रज्ज्वल प्रज्ज्वल सेक्स भिडिओ काण्डका मुख्य अभियुक्त हुन्। एसआईटीले प्रज्ज्वललाई विमानमा चढ्ने क्रममा निगरानी गर्न एअरलाइन्स र अधिकारीहरूसँग पहिले नै समन्वय गरिसकेको थियो। यौन उत्पीडनको आरोपमा परेका प्रज्वलले यसअघि नै भिडिओ सन्देश जारी गर्दै मे ३१ मा भारत फर्कने घोषणा गरेका थिए। त्यसपछि एसआईटी बैङ्ग्लोर अन्तर्राष्ट्रिय विमानस्थलमा प्रज्ज्वललाई पक्राउ गर्न तयार थियो। हालै इन्टरपोलले प्रज्ज्वलविरुद्ध ब्लु नोटिस जारी गरेको थियो।
यसअघि बिहीबार कैयौँ महिलामाथि यौन शोषणको आरोप लागेका जनता दल (धर्मनिरपेक्ष) का निलम्बित नेता प्रज्ज्वल प्रज्ज्वलविरुद्ध सयौँले प्रदर्शन गर्दै पीडितलाई न्यायको माग गरेका थिए। कार्यक्रममा प्रदेशभरिका महिला, मजदुर, किसान र दलितको सहभागिता थियो।
हसन लस सीटबाट लोकसभामा एनडीए उम्मेदवार समेत रहेका प्रज्ज्वल आरोप लगत्तै विदेश फरार भएका थिए । उनीविरुद्ध हालसम्म दुईवटा यौन शोषणको मुद्दा दर्ता भइसकेको छ। यसैबीच प्रज्ज्वलका वकिलले बलात्कार मुद्दामा विशेष अदालतमा अग्रिम धरौटीका लागि निवेदन दिएका थिए, जुन खारेज भएको थियो।