गोसाइँकुण्डमा लेक लागेर २४ वर्षीय युवकको मृत्यु

काठमाडौं— रसुवाको गोसाइँकुण्डमा लेक लागेर सिन्धुपाल्चोकका २४ वर्षीय युवकको मृत्यु भएको छ।
गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ क्षेत्रमा पर्ने ५६ सय मिटर उचाइमा ट्रेकिङ गएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का २४ वर्षीय विजय तामाङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सिन्धुपाल्चोकको हेलम्बु हुँदै लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै ५६ सय मिटरको उचाइमा पुगेपछि उनी लेक लागेर बिरामी परेका थिए।
उनको घटनास्थलमै मृत्यु भएको हो। शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज फरेन्सिक मेडिसिन विभागमा पठाइएको रसुवा प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१ ०७:१४













