News Griha :: न्यूजगृह
सुर्खेत जीप दुर्घटना अपडेट: चार जनाको मृत्यु, दुई घाइते

सुर्खेत— सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका-१३ को रातानाङ्ला नजिकै टाकुरीमोडमा भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीले बताए। 

बिहीबार बिहान भएको दुर्घटनाबारे प्रहरीले प्रारम्भिक जानकारी दिँदा दुईजनाको मात्र मृत्यु भएको जनाएको थियो। पछि चारजनाको मृत्यु भएको पुष्टि भएपनि मृतकको सनाखत हुन सकेको थिएन। हाल मृतकको सनाखत भएको प्रहरीले जनाएको छ। 

प्रहरी निरीक्षक केसीका अनुसार भे १ च २५६० नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परी कालिकोट गाउँपालिकाका ४० वर्षीय तन्त बिक, १७ वर्षीय वीरेन्द्र बिक, २७ वर्षीय नवराज बिक र दैलेख भैरवी गाउँपालिका-४ का ३८ वर्षीय महेन्द्र शाहीको मृत्यु भएको छ। 

दुर्घटनामा घाइते भएका चालक कालिकोट खाँडाचक्र–९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका–३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ। छ जना सवार जीप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको थियो। 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १९:४७
Weather Update