बस घरमाथि पुगेर उत्तानो पर्यो
बर्दिबासबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

काठमाडौं— सिन्धुलीको खुरकोट नजिकै बर्दिबासबाट काठमाडौं आउँदै गरेको एउटा बस दुर्घटनाग्रस्त भएको छ। बस घरको छत र भित्तामा ठोक्किन पुगेको छ।
बसमा २८ जना सवार रहेका र ती मध्ये अहिलेसम्म १५ जनाको उद्धार गरिएको सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले बताए।
१५ जना घाइते रहेका र उनीहरु मध्ये १२ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। तीन जनालाई उपचारका लागि काठमाडौं पठाइएको उनले बताए।
एउटा बैंकका कर्मचारी चढेको बस दुर्घटनामा भएको बुझिएको छ। अहिले उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
बस सिन्धुलीको गोलन्जोर- ७ मा दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ ५:३० बजे आसपासमा दुर्घटनामा परेको हो। बस सडकबाट १० मिटर तल घरको भित्ता र छतमा ठोकिन पुगेको छ। गाडी घरमाथि पुगेर उत्तानो परेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१ १९:२१













