
काठमाडौं— सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायब महान्यायाधिवक्ता नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले न्याय सेवा आयोगको निर्णयलाई वैधानिकता दिने निर्णय गरेको हो।
यसैगरी ज्ञवालीसँगै सहसचिवबाट सचिवमा बढुवा भएका यमबहादुर बुढामगरलाई न्याय परिषद् सदस्य र भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन्।
उनले भनिन्, ‘नेपाल न्याय सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरि क्रमशः नायब महान्यायाधिवक्ता, न्याय परिषद् सदस्य र रजिष्ट्रार पदमा पदस्थापना गर्ने निर्णय गरेको छ।’
यसका साथै, राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमण स्वीकृत गर्ने, वन ऐनको दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने र तिलगंगा आखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ।
उनले भनिन्, ‘राष्ट्रपति रामचन्द्र पौडेलको नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र त्यसपछि संघीय गणतन्त्र जर्मनीको भ्रमणको कार्यक्रम पनि रहेको हुनाले, भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ।
वन दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गरिएको छ र तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय भएको छ।’