
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन्। बिहीवार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले क्रान्तिको बाटो सरल रेखामा नजाने बताए।
उनले सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा नगरिएको बताए। उनले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई गम्भीरताका साथ हेर्ने हो भने समाजवादको बीउ रोप्ने प्रयास गरिएको उल्लेख गरे।
उनले समाजवादको निम्ति एकता आवश्यक रहेको भन्दै सामाजिक न्याय, सुशासन र समृद्धिको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु रहेको बताए। उनले कृषिलाई आधार बनाएर र आईटीलाई अगाडि बढाएर मात्रै समाजवादी यात्रामा अघि बढ्नसक्ने बताए।
उनले भने, ‘अब समाजवादको एउटा नयाँ यात्रातिर हामी छौँ। त्यहाँ भनिएजस्तै समाजवादले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि एउटा ठूलो शक्ति सञ्चयको अपेक्षा गर्दछ। आफ्नो देशभित्र मात्रै होइन, विश्वभरका श्रमिकहरूसँग, सबै न्यायप्रेमी जनसमुदायसँग एउटा ठूलो एकताको अपेक्षा राख्दछ। हामीले समाजवादी क्रान्तिको कुरा गर्दा हामीले भनेका के छौँ भने अहिले आधार निर्माण गर्ने कुरालाई मुख्य भनेका छौँ। हामीले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु नै हो। हामी कोही कनफ्युजनमा बस्नु हुँदैन। हामीले अहिले समाजवादी मोर्चा बनाउने कुरा वा वामपन्थी ध्रुवीकरणको निम्ति पहल गर्ने कुरा समाजवादको आधार तयार पार्ने कुरा सँग नै सम्बन्धित छ। हामी कोही द्विधामा बस्न हुँदैन।'
प्रधानमन्त्री दाहालले राष्ट्र र जनताको निम्ति फेरि पनि एउटा नयाँ आन्दोलनको तयारीका रुपमा अघि बढिरहेको बताए। ‘अहिले सरकारको तर्फबाट पनि खाली सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा गरिएको छैन, भर्खरै अघि सारिएको नीति कार्यक्रमलाई गहिरो गरी हेर्नुभयो भने वा अस्तिमात्रै प्रस्तुत भएको बजेटलाई राम्रोसँग हेर्नुभयो भने समाजवादका भ्रूणहरू, समाजवादको बीउ रोप्ने प्रयास गरिएको छ। समाजवादको निम्ति एकता आवश्यक छ,' दाहालले थपे।