
काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिटको सुनुवाइ दोस्रो दिन पनि स्थगित भएको छ।
बिहीबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासको तेस्रो नम्बरमा उक्त रिटको पेसी तोकिएको थियो। तर उक्त रिटको सुनुवाइ निवेदकका तर्फबाट स्थगित गराइएको सर्वोच्च प्रशासनले जनाएको छ।
यसअघि बुधबार पनि उक्त रिटको पेसी न्यायाधीश पोखरेलकै इजलासमा परेको थियो। तर सुनुवाइ नभइ स्थगित भएको थियो।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएको भन्दै त्यसको छानबिनका लागि पदमा बस्दा छानबिन प्रभावित हुने भन्दै पदमुक्त गर्न माग गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए।
गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा नमुछिएको भन्दै महान्यायाधिवक्ता कार्यालयले ‘क्लिनचिट’ दिनेगरी पत्र सार्वजनिक गरेको थियो। त्यसको विरुद्ध अधिवक्ता भट्टराईले सर्वोच्चमा निवेदन दिए पनि दरपीठ भएकोमा गत गत बुधबार सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सर्वोच्च प्रशासनलाई रिट निवेदन दर्ता गर्न आदेश दिएसँगै रिट दायर गर्न बाटो खुलेको थियो।
अधिवक्ता भट्टराईले लामिछानेसहित महान्यायाधिवक्ता कार्यालयलाई समेत विपक्षी बनाएका छन्।













