
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको विपक्षी दलहरूको बैठकमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी भएका छन्।
देउवाले समसामयिक राजनीतिका साथै मधेस प्रदेशको सरकारबारे छलफल गर्न बैठक बोलाएका थिए। देउवा निवासमा बसेको बैठकमा माधव नेपालका साथै एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी थिए।
मधेसमा नेकपा एमाले र माओवादी केन्द्रले सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएपछि जसपा नेपालबाट मुख्यमन्त्री उनले विश्वासको मत लिएका छैनन्। संघको सरकारबाट जसपा नेपाल बाहिरिएको छ भने मधेसमा अल्पमतमा परेको छ।
मधेसमा २३ प्रदेश सांसदसहित एमाले पहिलो दल छ। कांग्रेसका २२, जसपा नेपालका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन्।
१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्दछ ।