कान्तिपुर पब्लिकेशन्समा कार्यरत सुरक्षा गार्डले गरे आत्महत्या

काठमाडौं— कान्तिपुर पब्लिकेशन्स कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन्।
मोरङ बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयमा कार्यरत उनी सुरक्षा गार्ड बस्ने कोठामै मृत फेला परेका हुन्।
मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत छन्। उनी झुन्डिएको अवस्थामा मृत भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।
कोठा भित्रबाट चुकुल लगाइएको अवस्थामा कोठाको सिलिङ पङ्खामा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ।
बस्नेतलाई पालो दिन आएका साथीले ढोका नखुलेपछि पर्खाल नाघेर हेर्दा झुन्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ १८:२२













