News Griha :: न्यूजगृह
साँगामा सात सवारीसाधन एकैपटक परे दुर्घटनामा, दुई जना घाइते

काठमाडौं— काभ्रेको साँगानजिकै सात वटा सवारीसाधनहरू ठोक्किँदा दुई जना घाइते भएका छन्।  बुधबार अपराह्न पौने ४ बजे बनेपा नगरपालिका-१३ स्थित सडकखण्डमा साँगाको पुतली रिसोर्ट अगाडि सात वटा सवारीसाधन दुर्घटनामा परेका हुन्।  

दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। बा६३ प ७ नम्बरको मोटरसाइकल चालक पनौती-२ बस्ने ४८ वर्षीय प्रकाश सापकोटा र बा प्र- ०२-०४४ प ०५७३ नम्बरको स्कुटर चालक बनेपा-५ की १८ वर्षीया देबिना कर्माचार्य छन्। 

उनीहरूलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको छ। 
डीएसपी श्रेष्ठका अनुसार बाप्र-०१००३ क ९९४५ नं. को तेल बोकेको ट्यांकर रोकिरहेको थियो। त्यस पछाडि स्कुटर र बाइक थिए। बा७ च ४५३७ नम्बरको कार सोही ट्याङ्करमा ठोक्किन पुगेको थियो।

कार पछाडि बाप्र-०१-०२६ च ९२३९ नम्बरको गाडी ठोक्किएको हो। त्यस्तै पुनः अर्को कार त्यस गाडी पछाडि ठोक्किन पुगेको थियो। अन्तमा त्यस कार पछाडि ना७ ख ५४१ नम्बरको मालबाहक ट्रक ठोक्किएको थियो। 

रोकिराखेको ट्यांकर र मालबाहक ट्रकबाहेक सबै सवारीसाधनमा क्षति पुगेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १८:०८
Weather Update