News Griha :: न्यूजगृह
गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेसहित २ मन्त्रीले लिए शपथ 

काठमाडौं— गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। 

केहीबेरअघि मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष शपथग्रहण गरेका हुन्। 

त्यस्तै पाण्डेसँगै नवनियुक्त दुई मन्त्रीहरुले समेत शपथग्रहण गरेका छन्। आजै नियुक्त भएका प्रदेशका अर्थमन्त्री टकराज गुरुङ र सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पनि शपथ लिएका हुन्।

प्रदेश प्रमुख भट्टले पाण्डेलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

सोमबार सर्वोच्च अदालतले यसअघिका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। 

पाण्डे यसअघि पनि मुख्यमन्त्री बनिसकेका छन्। केन्द्रमा आएको राजनीतिक समीकरणको फेरबदलपछि राजीनामा दिएका पाण्डेले पुनः मुख्यमन्त्री बन्ने अवसर पाएका हुन्। 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १७:४४
Weather Update