-1716973776.jpg)
काठमाडौं— गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
यसअघिका मुख्यमन्त्री एमालेका खगराज अधिकारीलाई पदमुक्त गर्दै सर्वोच्चले पाण्डेलाई ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
गत सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उनको नियुक्तिलाई सर्वोच्चले बदर गरिदिएको हो।
४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश दिएको थियो।
प्रदेश सभाका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले ६० सदस्यीय प्रदेशसभामा ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको घोषणा गरेपछि उक्त कदम असंवैधानिक भन्दै कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दिएका थिए।
सर्वोच्चको पत्र आजै मात्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको थियो। प्रदेश प्रमुखले उक्त पत्र अध्ययन गरेर पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्री नियुक्त भएसँगै केहीबेरमा शपथग्रहणको तयारी गरिएको छ।
उनी यसअघि पनि मुख्यमन्त्री बनिसकेका छन्। केन्द्रमा आएको राजनीतिक परिवर्तनपछि मुख्यमन्त्रीबाट पाण्डेले राजीनामा दिएका थिए।