News Griha :: न्यूजगृह
बजेट निर्माणबारे अर्थमन्त्रीको अनुभवः म राति ३ बजे घर गएँ, अर्थसचिव म्याट्रेसमा सुत्नुभयो 
फाइल तस्बिर

काठमाडौं— अर्थमन्त्री वर्षमान पुनले बजेटबारे प्रमुख प्रतिपक्षी दल, उद्योगी व्यवसायी लगायत सबैबाट सकारात्मक प्रतिक्रिया आएको बताएका छन्।

मंगलबार संसद्मा बजेट प्रस्तुत गरेका अर्थमन्त्री पुनले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी बजेट निर्माणको दौरानका अनुभवनहरु सुनाउँदै सो कुरा बताएका हुन्। बजेट निर्माणका बेला आफू लगायत सचिवहरु र अन्य कर्मचारीहरु मन्त्रालयमा नै बसेको बताए। 

‘खासगरी म अस्ति राति बिहान साढे तीन बजेसम्म मन्त्रालयमा बसेँ, बिहानीपख मात्र गएर केही समय सुतेर बजेट प्रस्तुत गर्नुपर्ने अवस्था बन्या।’ उनले अनुभव सुनाउँदै भने, ‘तपाईंहरुलाई मन्त्रालयका सचिवहरुको दैनिकी थाहा पाउने जिज्ञासा होला। अर्थसचिव चाँही म्याट्रेस लिएर आउनु भएको रहेछ, यहीँ नै सुत्नुभयो। राजस्व सचिव चाँही बिहान ४ बजेपछि घर जानुभयो। धेरै साथीहरु स्टाफहरु बजेट बनाउने क्रममा यहीँ नै बस्नुपर्ने अवस्था बन्यो।’  

राजनीतिक रुपमा संकट पैदा भएका बेला संसद्मा बजेट प्रस्तुत हुन्छ कि हुन्न भन्ने आशंकाबीच आएको बजेट निर्माणका क्रममा सहयोगी बनेका सचिवहरु लगायत मन्त्रालयका कर्मचारीहरुलाई धन्यवाद दिए।  

‘बजेट निर्माणको क्रममा धेरै हतारोजस्तो, दबाबजस्तो र राजनीतिक रूपले पनि संसद्मा बजेट पेस हुन्छ कि हुन्न भन्ने अवस्थामा हामी थियौँ’, मन्त्री पुनले भने, ‘र अहिले यहाँसम्म आउँदा आज रिल्याक्स मुडमै छौ।’

त्यस्तै बजेटबारे मिडियाहरुमा आएको प्रतिक्रियाहरु सकारात्मक रहेको बताए। साथै सबैको प्रतिक्रियाको आधारमा बजेट सन्तुलित किसिमको आएकोले आफूहरु खुसि रहेको बताए।  

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १४:२५
Weather Update