
काठमाडौं— गण्डकी प्रदेशको मुख्यमन्त्रीका रुपमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेको शपथग्रहणको तयारी गरिएको छ।
सर्वोच्च अदालतले यसअघिका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
सर्वोच्चको पत्र केहीबेरअघि प्राप्त भएको र शपथग्रहणको तयारी गरिएको गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार समय नतोकिए पनि साँझसम्म शपथग्रहण हुनेछ।
‘सर्वोच्चबाट केहीबेरअघि पत्र प्राप्त भएको छ, सोही अनुसार शपथग्रहणको तयारी गरिएको छ,’ उनले भने, ‘समय तोकिएको छैन।’
गत सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उनको नियुक्तिलाई सर्वोच्चले बदर गरिदिएको हो।
४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश दिएको थियो।
प्रदेश सभाका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले ६० सदस्यीय प्रदेशसभामा ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको घोषणा गरेपछि उक्त कदम असंवैधानिक भन्दै कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दिएका थिए।
उक्त रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशद्वय रेग्मी र पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएकाले पदमुक्त हुने फैसला सुनाएको हो।
पाण्डे यसअघि पनि मुख्यमन्त्री रहेका थिए। केन्द्रमा फेरिएको राजनीतिक समीकरणपछि उनी अल्पमतमा परेकासँगै राजीनामा दिएका थिए।