
तनहुँ— जारी उपनिर्वाचन प्रयोजनका लागि तनहुँस्थित पृथ्वी राजमार्गलगायत स्थानीय सडकखण्ड बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्री सडकखण्डमा सवारीसाधन पूर्णरूपमा बन्द रहने भएको हो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको सूचना अनुसार पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट मादी नदीको पुलको पश्चिम भागसम्म, डुम्रे–बेँसीशहर सडकखण्ड, आँबुखैरेनी गोरखा सडकखण्ड, दमौली दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडक बन्द रहनेछन् ।
‘दमकल, एम्बुलेन्स, खानेपानीका ट्यांकर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहाेरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारीसाधन बाहेक सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा बन्द रहने छ,’ जारी सूचनामा उल्लेख गरिएको छ ।













