News Griha :: न्यूजगृह
कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा 

काठमाडौं— कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। 

उक्त रिटको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेसी तोकिएको छ।

कार्कीले दायर गरेको रिटबारे दोस्रो नम्बरमा पेसी तोकिएको हो। केदार कार्कीलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख परशुराम खापुङले हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए। केदार कार्की पनि सोही उपधारा अनुसार गत असोज २७ मा नियुक्त भएका थिए।

कार्कीले रिटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई निरन्तरता दिन माग गरेका छन्। केदारले दायर गरेको रिटमा सर्वोच्च अदालतले वैशाख २८ मा प्रतिवादीसँग जवाफ माग गरेको थियो। जेठ ९ मा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो।

२०८० असोज २७ मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की चैत २६ बाट अल्पमतमा परेका थिए।

२०८१ वैशाख २५ सम्म उनले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख खापुङले स्वत पदमुक्त भएको उल्लेख गर्दै २६ वैशाखमा नयाँ सरकार गठनको आह्वान गर वैशाख २७ मा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त गरेका थिए।
 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ११:२२
Weather Update