
काठमाडौं— बेलायती सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले अर्को महामारीको चेतावनी दिएका छन्। उनले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताए। भ्यालेन्सले आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन्।
उनले कोरोना जस्तो परिस्थितिसँग जुध्न तयार रहनुपर्ने बताए। महामारीको सामना गर्न हामी अझै तयार नभएको उनले जोड दिए। द गार्डियनको रिपोर्टका अनुसार, एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्यालेन्सले भने, 'हामीले सुरुमा खतराहरू पत्ता लगाउन राम्रो निगरानी प्रणाली स्थापना गर्न आवश्यक छ।'
भ्यालेन्सले देशमा चुनाव भइरहेका बेला यो उपयुक्त समय भएको बताए। महामारीको खतरालाई चुनावमा मुद्दा बनाउनु महत्त्वपूर्ण छ। उनले चुनावपछि आउने सरकारलाई महामारीको अवस्थामा छिटो निदान परीक्षण, खोप छिटो उपलब्ध गराउने जस्ता विषयमा काम गर्न सुझाव दिएका छन्।
भ्यालेन्सले २०२१ मा जी७ देशका नेताहरूको बैठकमा भनेका थिए, 'महामारीकोविरूद्ध एकजुट हुनु आवश्यक छ। यसका लागि हामीले र्यापिड डाइग्नोस्टिक टेस्ट, र्यापिड भ्याक्सिन र र्यापिड ट्रिटमेन्ट गर्नुपर्छ ताकि खतरा कम गर्न सकियोस्।
भ्यालेन्सले जी७ ले २०२३ सम्ममा उनको सल्लाह बिर्सिएको आरोप लगाए। उनले जी७ वा जी२० देशको एजेन्डाबाट महामारीको विषयलाई हटाइयो भने अवस्था पहिले जस्तै हुनसक्ने बताए। उनले महामारीलाई युद्ध जस्तै सामना गर्नुपर्ने बताए।
प्याट्रिक भ्यालेन्स अप्रिल २०१८ देखि २०२३ सम्म बेलायतका मुख्य वैज्ञानिक सल्लाहकार रहेका थिए। उनको कार्यकालमा बेलायतलगायत सम्पूर्ण विश्वले कोरोनाको प्रकोपको सामना गर्नुपरेको थियो। यस अवधिमा भ्यालेन्सले बेलायती सरकारलाई कोरोनाविरुद्ध नीति बनाउन मद्दत गरे।