News Griha :: न्यूजगृह
उपनिर्वाचन : साँझ ५ बजेसम्म मतदान

काठमाडौं— उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुन लागेको हो । 

चितवन–२ बाट विजयी रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठबीच त्रिपक्षीय भिडन्त हुँदैछ ।

यसैगरी बारा–२ बाट विजयी रामसहाय यादव उपराष्ट्रपतिमा तथा तनहुँ–१ बाट विजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोविन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०६:२४
Weather Update