
रौतहट— रौतहटको राजपुर नगरपालिकामा नेपाली कांग्रेस जिल्ला कार्य समितिले गरेको बृहत् जनसभामा अदालतको फैसलामाथि प्रश्न चिन्ह उठाइएको छ।
कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई राजपुर बम बिस्फोट मुद्दामा आरोपी बनाएर ‘बिनाप्रमाण’ जन्मकैदको फैसला सुनाएको भन्दै त्यो न्यायोचित नभएको जनसभाले ठहर गरेको हो।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले मंगलबार आयोजना गरेको बृहत् जनसभामा उपस्थित कांग्रेसी नेता एवम् कार्यकर्ताहरूले अदालतको फैसलामाथि प्रश्न उठाएका हुन्।
कांग्रेस जिल्ला उपसभापति रामलोचन जैसवाल, सचिव रामचन्द्र गिरीसँगै उपस्थित जिल्लास्तरीय नेताहरुले आलमप्रति अदालतले अन्याय गरेको भन्दै खुलेरै प्रतिवाद गरे।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री आलमका छोरा डा फिर्दोषले आफ्ना बुवा जिल्लामा मात्र नभई देशकै जनताको लागि समर्पित रहेको बताए।
‘हाम्रो परिवारमाथि पहिलो संविधानसभाको समयमा नभएका घटनाको दोषी ठहर हुने गरेर सजाय सुनाउनुले न्याय व्यवस्था माथि सर्वसाधारणको विश्वास गुम्दै गएको छ,’ उनले भने।
सचिव रामचन्द्र गिरीले पूर्वमन्त्री आलमसहितका मानिसलाई बिनाप्रमाण मुद्दा चलाएर कारागार चलान गरिएको बताउँदै रिहाइका लागि दबाब सिर्जना गर्ने उद्देश्यले बृहत् जनसभाको आयोजना गरिएको बताए। ‘निर्दोष’ आलमलाई देशीविदेशी शक्तिको दबाबमा कारागारमा राखिएको दाबी गर्दै बिनाप्रमाण आलमविरुद्ध गरिएको अन्यायपूर्ण फैसलालाई पुनर्विचार गर्नुपर्ने सचिव गिरीले बताए।
जनसभामा कांग्रेस नेताहरू रामलोचन, शेख वकिल, डा राजिक आलम, देवचन्द्र झा, हृदयनारायण यादव, रामश्रेष्ठ साह, क्षेत्रीय सभापति रामस्नेही यादवलगायत दर्जनौं नेताहरूले आलमप्रति ऐक्यबद्धता जनाए। उनीहरूले आलममाथि अन्याय भएको भन्दै न्यायालयले पुनर्विचार गर्नुपर्ने माग गरेका थिए।
पहिलो संविधानसभाको पूर्वसन्ध्या २०६४ सालमा राजापुरमा भएको बम विष्फोटमा परी केही मानिसको मृत्यु र घाइते भएका दर्जन बढी मानिसलाई आलमको इसारामा जिउँदै इँटाभट्टामा जलाएको आरोपमा रौतहट अदालतले उनलाई जन्मकैदको फैसला तोकेको छ। आलम हाल नख्खु जेलमा कैद भुक्तान गरिरहेका छन्।