News Griha :: न्यूजगृह
प्रतिनिधि सभाले बनायो सहकारी ठगी छानबिनको संसदीय समिति

काठमाडौं— प्रतिनिधिसभाले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ।

समितिको नाम 'सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति' राखिएको छ। समितिको संयोजकमा एमालेका सांसद सूर्य थापा रहेका छन् भने एमालेबाट थापा र सरिता भुसाल रहने भएका छन्।

 त्यस्तै कांग्रेसबाट सांसदहरू ईश्वरी देवी न्यौपाने, र बद्रीप्रसाद पाण्डे छन् भने माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन्। समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।

समितिको कार्यक्षेत्र:
१. सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन,  सुपरीवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने।

२. समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने। 

३. नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण  गरेका अनुसूची-१ मा उल्लेख भएका  संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन  विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने ।

४. सहकारी संस्था सदस्य (शेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुऱ्याएको भनी सङ्घीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका  सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए/नभएको,  र त्यस्तो गैर कानुनी वा अनुचित  कार्यमा कोही  संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र  संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १८:४५
Weather Update