News Griha :: न्यूजगृह
छानबिन समितिको कार्यादेशमा ४ बुँदे सहमति, प्रधानमन्त्रीलाई पत्र बुझाउँदै कार्यदल 
फाइल तस्बिर

काठमाडौं— सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगिएको छ। 

आज कार्यदललाई अन्तिम रुप दिन बसेको कार्यदलको बैठकले ४ बुँदे सहमति गर्दै कार्यादेशलाई अन्तिम रुप दिएको हो। 

उक्त कार्यादेश प्रधानमन्त्रीलाई बुझाउने तयारी भइरहेको कार्यदलका सदस्य समेत रहेका रास्वपाका सांसद शिशिर खनालले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीलाई बुझाएपछि उक्त सहमतिको पत्र सार्वजनिक गरिनेछ। 

‘भर्खरै हामीले कार्यादेशलाई अन्तिम रुप दिँदै ४ बुँदे सहमति गरेका छौँ। केहीबेरमा प्रधानमन्त्री बुझाएपछि उक्त पत्र सार्वजनिक गरिनेछ,’ खनालले न्यूजगृहसँग भने। 

सोमबार बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरुको बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यदलका सहमति जुटेको हो। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै राखेर अघि बढ्ने अडान कायम राख्दै आएकोमा कांग्रेसबाट लचकता आएपछि सहमति जुटेको हो। 

७ सदस्यीय छानबिन समिति बन्ने सहमति अनुसार कांग्रेस र एमालेबाट २–२ जना र राप्रपा, रास्वपा र माओवादीबाट १–१ जना रहनेछन्। आजै तीन बजेसम्म नाम टुंगो लगाउने र आज बस्ने प्रतिनिधि सभा बैठकमा उक्त नाम र सहमति प्रस्तुत हुने बताइएको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १३:४६
Weather Update