-1716875199.jpg)
काठमाडौं— लामो रस्साकस्सीपछि सहकारी ठगी प्रकरणमा छानबिनका लागि संसदीय छानबिन समिति बन्ने निश्चित भएको छ।
पूर्ववर्ती मागबाट कांग्रेस केही चलक भएपछि समिति बन्ने टुंगो लागेको हो।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा समितिको कार्यादेशसहित संसदीय समिति गठनको सहमति पारित हुनेछ। आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरुसँग बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सो जानकारी दिएका हुन्।
‘आज चार बजे बस्ने प्रतिनिधिसभा बैठकमा कार्यादेशसहित संसदीय समिति गठनको सहमति पारित हुन्छ,’ उनले भने। त्यस्तै कांग्रेसले दिउँसो ३ बजेसम्म संसदीय समितिमा बस्ने सदस्यहरुको नाम टुंगो लगाउने उनले बताए।
यसअघि सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा भएको सहमति संसदीय दलको बैठकमा अनुमोदन भएको छ। हिजो उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम संसदीय छानबिन समितिको कार्यादेशमा उल्लेख नगर्ने तर उनी जोडिएका सहकारी र संस्थाको नाम राखेर जाने सहमति भएको थियो।
७ सदस्यीय छानबिन समिति गठन गर्ने दलहरूबीच सहमति छ। जसमा कांग्रेसका २, एमालेका २, माओवादीका १, रास्वपाका १ र राप्रपाका १ जना सांसद रहने भनिएको छ। समितिको समयावधि तीन महिनाको हुने लगभग सहमतिमा दलहरू छन्।
आज दिउँसो १ बजेका लागि बोलाईएको संसद्को संयुक्त बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको छ। बजेट भाषणका लागि बोलाइएको बैठक संसदीय छानबिन समितिबारे छलफलका लागि २ घण्टा सारिएको हो।
अहिले कार्यादेशलाई अन्तिम टुंगो दिनका लागि गठित कार्यदलको बैठक कानुन मन्त्रालयमा बसिरहेको छ।