-1715927453.jpg)
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा विपक्षी दलहरूको संयुक्त बैठक बस्दैछ। बैठक बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरस्थित देउवाको कार्यकक्षमा बस्ने छ।
आज संघीय संसद्मा बजेट भाषण हुनुअघि विपक्षी दलहरूको संयुक्त रणनीति तय गर्न देउवाले विपक्षी दलहरूको बैठक बोलाएका हुन्।देउवाले विपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।
विपक्षी दलको बैठकअघि कांग्रेस संसदीय दलको बैठक पनि बस्नेछ। सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेससहितका विपक्षी दलहरूले संसद्मा विरोध गर्दै आएका छन्।
संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र विपक्ष सहमत भए पनि समितिको कार्यादेशका विषयमा भने सहमति जुट्न सकेको छैन। सोहीकारण सदनको गतिरोध जारी छ।
अर्थमन्त्री वर्षमान पुनले आज दिउँसो १ बजे बस्ने संघीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्नेछन्। त्यसअघि देउवाले बोलाएको विपक्षी दल र आफ्नो पार्टीको संसदीय दलको बैठकलाई चासोको साथ हेरिएको छ।