
काठमाडौं— विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेललाई दोस्रो पटक भ्रष्टाचारी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले झुटा विवरण पेस गरी लाभ लिएको आरोपमा भ्रष्टाचारी ठहर गरेको हो।
विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो। उनीमाथि झुटा विवरण पेस गरेर सचिव सरहको पद लिएको आरोपमा थप ६ महिना कैद सजाय तोकेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ वैशाख ९ मा पौडेलमाथि अमेरिकाको स्थायी आवास अनुमतिपत्र (पीआर) लिएको अवस्थामा त्यसलाई लुकाई नेपालमा सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
यसअघि गत मंगलबार मात्रै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रमा भएको भ्रष्टाचारमा दोषी ठहर गर्दै पौडेललाई दुई वर्ष कैद गरी उनीबाट २५ करोड ४७ लाख बिगो र त्यति नै असुल्ने फैसला गरेको थियो।













