
काठमाडौं— सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गरेको छ। सर्वोच्चले गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर गर्दै पदमुक्त गरेको हो।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतको सम्बन्धमा गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर रिटमा माग बमोजिम आदेश भएको हो।
न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले खगराजलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए। जबकी संविधान अनुसार ३१ प्रदेशसभा सदस्यले समर्थन गर्नुपर्ने थियो।
सभामुख प्रयोग भएर खगराजलाई विश्वासको मत दिलाएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका थिए।