News Griha :: न्यूजगृह
आरोही निर्मल पुर्जामाथि छानबिन गर्दै पर्यटन विभाग, गलत सूचना दिएको आरोप 

काठमाडौं— पर्यटन विभागले आरोही निर्मल पुर्जाले सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटिएको भन्ने गलत जानकारी दिएको भन्दै खण्डन गरेको छ।

पर्यटन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्जाले सामाजिक सञ्जालमार्फत गलत जानकारी दिएको भन्दै अहिले सगरमाथा आरोहणका लागि टाँगिएका सबै डोरीमा कुनै समस्या नरहेको दाबी गरेको छ।

पुर्जाले सामाजिक सञ्जालमा एक भिडिओ पोष्ट गर्दै आफ्नो टोली आरोहण गर्न गइरहेको अवस्थामा डोरी काटिएको बताएका थिए। उनले आरोहण क्षेत्रमा राजनीति भएको र अब आफू चुप नबस्ने समेत बताएका थिए। 

विभागले पुर्जाले भने जस्तो कुनै डोरी नकाटिएको बताएको छ। विभागले आरोहणमा कुनै समस्या नरहेकोले ढुक्कसँग आरोहण गर्नसमेत आग्रह गरेको छ।

साथै विभागले जारी गर्ने सूचना, फिल्ड कार्यालय र सम्पर्क अधिकृतबाट सम्प्रेषण हुने सूचना बाहेक भ्रामक सूचना प्रवाह गर्ने समग्र पर्वतीय पर्यटन एवं राष्ट्रको इज्जतमा धक्का पुग्न सक्ने अफवाहमा नलाग्न अपिल गरेको छ। 

साथै विभागले सधैँ चर्चित हुने गरि अनधिकृत सूचना सम्प्रेषण गर्ने काममा संलग्न पुर्जा र अन्य व्यक्तिहरूमाथि छानबिन प्रक्रियासमेत अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १८:३३
Weather Update