-1716810717.jpg)
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहकारी ठगी प्रकरणमा मुछिएकी सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ।
सोमबार सम्पन्न राप्रपाको केन्द्रीय समिति बैठकले त्यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकार सम्मेलन गर्दै जानकारी दिए।
त्यस्तै राप्रपा बैठकले अन्य सहकारी घोटाला प्रकरणको पनि छानबिन गर्न सरकारसँग माग गरेको छ।
‘माननीय गीता बस्नेतमाथि नवलपरासीस्थित छिपछिपे सहकारीबाट उहाँसमेत सञ्चालक रहेको कृष्णसार रिसोर्टमा रकम गएको सन्दर्भमा उहाँमाथि प्रहरीले मुद्दा चलाएको सन्दर्भमा हाम्रो ध्यानाकर्षण भएको छ र पार्टीले यसअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि गीता बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन दिइसकेको छ,’ पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष लिङ्देनले भने,‘बैठकले पुन अदालतमा उपस्थित भएर कानुन बमोजिम सफाइ लिन निर्देशन दिएको छ।’
त्यस्तै राप्रपाले यसअघि सरकारलाई बुझाएका विभिन्न ४० बुँदे माग पत्र सम्बोधन नगरेको भन्दै पुन ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ। साथै आफूहरुले उठाएको मागबारे सरकारले नसुनेमा आन्दोलनमा जाने चेतावनी दिएको उनले बताए।













