
काठमाडौं— गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध परेको रिटको सुनुवाइ आज हुँदैछ।
यसअघि ‘हेर्दाहेर्दै’ मा राखिएको उक्त रिटको सुनुवाइ आज सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा भइरहेको छ।
मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक रहेको भन्दै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो गत मंगलबारदेखि सुनुवाइ सुरु भएको हो।
उक्त रिटमा मुद्दामा रिट निवेदक र सरकारी पक्षले बहस गरिसकेका छन् भने विपक्षी र जवाफी बहस मात्र बाँकी छ।
जवाफी बहस सकेपछि सर्वोच्चले आजै निर्णय दिनसक्ने बताइएको छ।
पाण्डेले विश्वासको मतमाथि प्रश्न उठाउँदै उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका थिए। उनले आफूलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि परमादेश माग गरेका थिए।
कूल ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिँदा ३० मत प्राप्त गरेका थिए। सभामुखले ३० मतलाई नै बहुमत घोषणा गरेपछि मुख्यमन्त्री अधिकारीविरुद्ध पाण्डे अदालत गएका हुन्।













